
भदौ १२, भैरहवा : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक कार्गो (सामान) विदेश पठाउने तयारी गरेको छ ।
कुवेतको जजिरा एयरलाइन्सले गत जेठ २ गतेबाट व्यावसायिक उडान थालेको थियो । यहाँ कार्गो उडानका लागि आवश्यक पूर्वाधार तयार रहेपनि नि-र्यात कम्पनीले चासो नदिँदा ढिलाइ भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार बिहान जजिरा एयरलाइन्सले दुई टन कार्गो लैजान लागेको छ । सामान निर्यातका लागि विमानस्थलमा भन्सार, सुरक्षा जाँच लगायत आवश्यक पूर्वाधार तयार गरिएको छ ।
काठमाडौंस्थित हिमालेक्स ट्रेडर्सले पहिलोपटक आफ्ना उत्पादन राइजिङस्टार कार्गो प्रालिमार्फत फ्रान्स निर्यात गर्न लागेको हो । हिमालेक्स ट्रेडर्सका सञ्चालक प्रदीप सापकोटाले यो ट्रान्जिट कार्गो भएको बताए ।
कुवेत हुँदै सामान फ्रान्सको लियोन विमानस्थल पु-र्याइने छ, सापकोटाले भने, भैरहवा विमानस्थलबाट पनि कार्गो पठाउन सम्भव छ भन्ने देखाउन काठमाडौंबाट सामान ल्याएर पठाएका हौं । यहाँबाट कार्गो उडान सुरु भएको खबरपछि अन्य
कम्पनीले निर्यातका लागि चासो दिने भएकाले विमानस्थलको प्रवर्द्धनका लागि आफूले पहल गरेको उनले बताए । उनका अनुसार पहिलो पटक ऊनबाट निर्मित विभिन्न हस्तकलाजन्य सामान पठाइन लागेको छ ।
निर्यातकर्ताले भैरहवा विमानस्थल प्रयोग गरुन् भन्ने उद्देश्य हो, राइजिङस्टार कार्गोका व्यवस्थापक जीवन पन्तले भने,भैरहवास्थित विमानस्थलको प्रवर्द्धनका लागि हामी यहाँ आएका हौं ।
अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले कार्गोका लागि यसअघि तयारी अवस्थामा रहे पनि सामान पठाउने कम्पनी (सिपर) सम्पर्कमा नआएकाले ढिलाइ भएको बताए । जजिराले सुरुवातमै रुची देखाएको थियो, उनले भने, तर, निर्यातकर्ता नआएपछि ढिलो भयो ।
उनका अनुसार विमानस्थल सञ्चालनसँगै कार्गो उडानका लागि आवश्यक भन्सार, प्रहरी, बैंक, पारबहन तथा गोदाम लगायतको व्यवस्थाका लागि कार्यालय स्थापना भइसकेका छन् । अहिले निर्यातकर्ता कम्पनी जोडिएपछि आयात/निर्यातले पूर्णता पाएको उनले बताए ।