
साउन २२, काठमाण्डाै : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गर्नुभएको छ ।
ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उहाँको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकिरसमेत गर्नुभयो ।
आज आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशको अर्थतन्त्र ग-म्भीर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिव नै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नबाेलेको भनी प्रश्न गर्नुभयो ।
कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरू हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भइरहेका छैनन् भन्ने समाचार सञ्चारमाध्यममा आयाे । अहिले राजस्व सचिवको रूपमा भूमिका निर्वाह गरिरहनुभएका सचिवलाई नै अर्थ सचिवको जिम्मे-वारी पनि दिइएको छ ।
कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो । तर आज यो सरकारको क्रियाकलापले त्यहाँ काम गरिरहेका सचिवहरू सरुवा माग्ने, अरू कर्मचारी त्यहाँ बस्न नचाहने स्थिति सिर्जना भएको छ ।
बजेटमा करका दर हेर-फेर गरेकाे भन्ने सम्बन्धमा छानबिन समितिले एउटा रिर्पोट दिइसकेको छ । छान-बिन समितिले सम्पूर्ण अङ्गहरू पूरा गर्न पाएन । तथ्यमा आधारित भएर निष्कर्ष निकाल्नुपर्ने हाे, त्यो विधि पालना भएन । अधुरो, अपुरो अध्ययनको आधारमा रिर्पाेट आयो ।
त्यसको परिणाम आज अर्थ मन्त्रालयमा कर्मचारीहरू भागाभाग हुनुपर्ने परिस्थिति आएको हो । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । अर्थमन्त्रीजी घरी गभर्नर, नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गर्नुहुन्छ ।
घरी उहाँको मातहत बस्न कोही पनि कर्मचारी तयार हुँदैनन् । यो कुराले सरकारलाई प्रधानमन्त्रीलाई कहीँ कतै पोल्दैन ?
उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पार्नुभयो ।