
साउन २०, वीरेन्द्रनगर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देशको नेतृत्व फेर्नुपर्ने समय आएको बताएका छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कर्णालीका जनताहरू बिहान बेलुकी छाक टार्नका लागि भारतमा श्रम बेच्नुपर्ने बाध्यता छ, उनले भने, नेतृत्वमा बसेकाहरू काठमाडौंमा चयनका साथ आराम गरिरहेका छन्, अब यस्तो नेतृत्व फेर्नुपर्ने बेला आएको छ ।
सभापति लामिछानेले आफूले टेलिभिजनको पर्दाबाट देशका विभिन्न ठाउँका समस्याहरु देखाउँदै समाधान गर्ने व्यक्तिको पर्खाइमा आजसम्म बसेको बताए । आजसम्म टेलिभिजनको पर्दाबाट, चोक–चोकमा र गल्लीमा पनि पुगेर समस्याहरु
देखाइयो र सुनाइयो पनि, उनले भने, अब सदनमै पुगेर जनताका समस्या चुनी–चुनी समाधान गर्न म आएको छु, यसमा मलाई तपाईंको साथ चाहिएको छ । नागरिकको समस्या सुनिदिने र समाधान गर्ने ठाउँ नै नभएको सभापति लामिछानेले गुनासो गरे ।
लामो समय बसेर हेरियो, नागरिकले गुनासो र समस्या सुनाउने ठाउँ छैन, उनले भने, समस्या सुन्ने ठाउँमा ढोका लागेका छन्, ताल्चा लागेका छन्, अब हामी त्यो ढोका खोल्नेछौँ ।
अब देशका विभिन्न ठाउँमा देखिएका फोहोर आफ्नो नेतृत्वमा सफा हुने सभापति लामिछानेले दाबी गरे ।
अब म कसैलाई कुर्दिनँ, उनले भने, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्नलायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफै मैदानमा आएको छु ।
सभापति लामिछानेले कर्णालीको कालीकोटमा बनाएको रास्कोट अस्पतालको ब्याजमार्फत आफू भोट माग्न नआएको टिप्पणी गरे । मैले अस्पताल बनाएको छु भनेर भोट माग्न आएको हैन, उनले भने, अब तपाईंको भोट खेर नजाओस्, उनले भने,
भविष्य निर्धारण गर्न विधिको शासन चाहिन्छ, विधि मिच्नेबाट देशको भविष्य खोज्न सकिँदैन । अब परिवर्तन गर्ने संकल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको उनको भनाइ छ ।
सभापति लामिछानेले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको बताए ।
तर अस्पतालबाट अहिले सयौं नागरिकले उपचार पाइरहेको उनको दाबी छ । उनले रास्कोट अस्पतालबाट ८ हजार ९ सय ५६ जनाको उपचार भएको पनि जानकारी दिए । सभापति लामिछानेका अनुसार उक्त अस्पतालबाट ३ हजार ८ सय ७२
महिला, ३ हजार ९ सय २ जना पुरुष र १ हजार १ सय ८२ बालबालिकाले सेवा लिएका छन् । उनले भोट हालिसकेपछि प्रश्न गर्ने बानीको विकास गर्न पनि कर्णालीवासीलाई आग्रह गरे ।
अब यस्तो मतदाताको खाँचो छ जसले मत हालिसकेपछि कानमा तेल होइन घण्टी बजाओस् र आफ्ना नेताहरुलाई प्रश्न गरोस्,’ उनले भने । भेलामा कर्णालीका दशवटै जिल्लाका करिब तीन हजार बढी नागरिकको सहभागिता थियो ।