२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अष्ट्रेलिया पढ्न जानका लागि आवेदन दिनेहरुमा ९८ प्रतिशतको भिसा अस्वीकृत !

असार २८, काठमाडौं : पछिल्लो समय अष्ट्रेलिया पढ्न जानको लागि भिसा प्रकृया अगाडि बढाएका अधिकांश विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत हुने गरेको छ ।

कतिपय कन्सल्टेन्सीहरुले तयार गरेर पठाएकामध्ये ९८ प्रतिशतसम्म अस्वीकृत हुने गरेको कन्सल्टेन्सी सञ्चालकले बताएका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)का अध्यक्ष बासु नेपालले पछिल्लो समयमा अष्ट्रेलिया पढ्न

जान चाहने धेरै नेपाली विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत भएको बताए । उनका अनुसार विगतका दिनको तुलनामा धेरै प्रतिशत भिसा अस्वीकृत भएको छ । विशेषगरी डिप्लोमा एड्भान्स र भोकेसनल विषयहरुमा अध्ययन आवेदन गर्ने विद्यार्थीहरुको हकमा भिसा अस्वीकृत हुने दर बढेको अध्यक्ष नेपालको भनाई छ ।

उनका अनुसार माइग्रेसनको विषयलाई लिएर भिसा अस्वीकृत हुने गरेको छ । ‘तपाईं अध्ययन सकेपछि नेपाल फर्किनुहुन्छ भन्ने आधार देखिएन, त्यसैले तपाईंको अध्ययन भिसा अस्वीकृत गरिएको छ भनेर अस्वीकृत गरिएका भिसाको सन्दर्भमा रिपोर्ट आउने गरेको छ,’ फेकनका अध्यक्ष नेपालले भने ।

विगतका वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा अष्ट्रेलिया पढ्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्यामा पनि गुणात्मक रुपमा वृद्धि भएको छ ।

देशको जनसंख्याको अनुपातमा ठुलो संख्यामा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया अध्ययनको लागि आवेदन गर्ने गरेको नेपालको भनाई छ । जसका कारणले पनि भिसा अस्वीकृत हुनेको प्रतिशत बढ्नु स्वभाविक रहेको उनले बताए ।

कतिपय कन्सल्टेन्सीले तयार पारेर पठाएका मध्ये शतप्रतिशत आवेदन नै अस्वीकृत भएको अवस्था रहेको बागबजारका एक कन्सल्टेन्सी सञ्चालकले भने ।

हाम्रो कन्सल्टेन्सीले पठाएका विद्यार्थी मध्ये अधिकांशको भिसा लागेको छैन । काम राम्रो होला भन्ने लागेको थियो, तर होलाजस्तो छैन, नाम नलेख्ने शर्तमा उनले विकासन्युजलाई बताए ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।