
असार २७, काठमाडौं : बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका
लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।
थप समाचार, अस्ट्रेलियामा न्यूनतम ज्यालामा काम गरिरहेका मानिसहरूको तलब हप्तामा ४० डलर बढ्ने भएको छ। फेयर वर्क कमिसनको निर्णय अनुसार, प्रतिघण्टा २०.३३ अस्ट्रेलियन
डलर तलब पाउँदै आएका कामदारहरूले जुलाई १ तारिकबाट प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर पाउने भएका हुन्।
यसको मतलब न्यूनतम साप्ताहिक तलब अब ८१२.६० डलर कायम भएको छ।
फेयर वर्क कमिसनका अध्यक्ष इयन रसले जीवनयापनको बढ्दो लागत र बढ्दो मुद्रास्फीतिले तलब वृद्धि गर्नमा भूमिका खेलेको बताए। मुद्रास्फीतिले ज्यालाको वास्तविक मूल्य घटाउँछ र उनीहरूको जीवनस्तरलाई मुस्किल बनाउँछ, रोसले भने।
कर्मचारी सङ्गठनहरूले भने बढ्दो मुद्रास्फितीसँग तालमेल मिलाउने गरी ५.५ प्रतिशत तलब वृद्धिको माग गरिरहेका थिए।
उता, रिजर्भ बैङ्कका गभर्नर फिलिप लोवीले वर्षको अन्त्यसम्म मुद्रास्फीति बढेर ७ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।