२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय विमान सेवाले धानेको गौतम बुद्ध विमानस्थल !

असार २३, काठमाडौ : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ ।

पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन् ।
२०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि यो विमानस्थलमा

व्यावसायिक उडान सुरु भएको थियो । तर, अहिलेसम्म एउटा एयरलाइन्सले मात्र सेवा सुरु गरेका कारण विमानस्थलको व्यवस्थापन खर्चसमेत धान्न नसकिने अवस्था छ ।
विमानस्थलका निर्देशक गोविन्द दाहालका अनुसार विमानस्थलको खर्च धान्नका लागि कम्तीमा ५ वटा एयरलाइन्सले सेवा सञ्चालन गर्नुपर्छ ।

तर विमानस्थल नयाँ रहेको र भर्खरै सञ्चालनमा आएका कारण अन्य विमान सेवा कम्पनीले पनि यहाँबाट उडान सुरु गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

उनले अब चाँडै नै बिज एयरले यहाँबाट पनि सेवा सुरु गर्ने जानकारी दिए । अन्य केही वायुसेवा कम्पनीले पनि चासो देखाएको उनको भनाइ छ । वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि अहिले आफूहरुले विभिन्न चार्जमा एक लाख रुपैयाँ जति छुट दिएको उनले बताए ।

केही विमान कम्पनीले ग्राउन्ड चार्जमा छुट मागेको पनि उनले सुनाए । ग्राउन्ड चार्जबापत झन्डै ३ लाख रुपैयाँ लाग्छ । त्यसमा कम्पनीहरूले कम्तीमा ५० प्रतिशत छुट माग गरेको उनको भनाइ छ ।

उनका अनुसार निकट भविष्यमा बीज एयरका साथै साउदी अरबको एयर अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भइरहेको छ ।

उनले दशैँसम्ममा काठमाडौंकै हाराहारीमा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरे । हाल जजिरा एयरलाइन्सले हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार उडान भर्दै आएको छ । सो कम्पनीले दैनिक रूपमा उडान भर्न सबै प्रक्रिया पूरा गरेर ग्राउन्ड चार्ज शुल्क निःशुल्क गर्न माग गरेको उनको भनाइ छ ।

अहिले काठमाडौँको तुलनामा भैरहवाबाट भाडा दर सस्तो भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाले पनि यही विमानस्थल रोज्ने गरेका छन् । काठमाडौँ–कुवेतको तुलनामा भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो रहेको जनाइएको छ ।

गौतम बुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार विभिन्न विमानसेवा कम्पनीले उडानका लागि चासो देखाउँदै विमानस्थलले लिने विभिन्न शुल्कमा छुटको माग गरिरहेका छन् । यथास्थितिमै निकट भविष्यमा केही विमानसेवा कम्पनीले उडान सुरु गर्ने तयारी पनि भइरहेको उनले जनाए ।

२०७९ असार २३, बिहीबार प्रकाशित 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार