
असार १९, काठमाडौ : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तरको उडानले चहलपहल बढेको छ । अन्तर्राष्ट्रिय उडान भइरहँदा विमानस्थलबाहिरका व्यावसायिक प्रतिष्ठानमा समेत यात्रुको भीडभाड देखिन्छ ।
दसैंअघिसम्म थप विमान कम्पनीले समेत सेवा दिन सुरु गर्ने गरी तयारी गरिरहेकाले व्यावसायिक तथा पर्यटकीय चहलपहलमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । गत जेठ २ मा प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए ।
उद्घाटनका दिनदेखि नै जजिरा एयरवेजले व्यावसायिक उडान गरिरहेको छ । जजिराले सातामा ३ दिन कुवेत–भैरहवा सीधा उडान गर्दै आएको छ । जजिराको ‘एयर बस ३२० निओ’ विमानले सोमबार, बुधबार र शुक्रबार सेवा दिने गरेको छ ।
विशेषगरी कुवेतलगायत खाडी मुलुक आउनेजाने नेपाली श्रमिकहरू भैरहवामा सीधा उडान सुरु भएसँगै लाभान्वित भएका छन् । अहिले अन्य विमान कम्पनीले समेत भैरहवामा उडान भर्ने इच्छा देखाइरहेकाले उडान संख्या थपिने र
सेवा थप विस्तार हुने विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालदेखि विदेश जाने यात्रुमध्ये २५ प्रतिशत लुम्बिनी प्रदेशका हुने गरेका विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले बताए । आफ्नै क्षेत्रबाट उडान भर्न पाएको भन्दै यात्रुमा छुट्टै उत्साह देखिने गरेको उनको भनाइ छ ।
जुलाईदेखि एक उडान थप्ने तयारीमा जजिरा छ, उनले भने, सेप्टेम्बरपछि दैनिक उडान भर्ने गरी उसले तयारी गरिरहेको छ । १/२ महिनापछि युरोपको विज एयरले पनि भैरहवाबाट दुबईका लागि सीधा उडान भर्ने तयारी थालेको उनले जानकारी दिए ।
विजले पनि दैनिक १ उडान भर्ने जनाएको छ, उनले भने, यसबाहेक दुबईलाई केन्द्र बनाई अन्य वायुसेवा कम्पनीले पनि दसैंअघि नै दिनहुँ उडान भर्ने गरी विमान ल्याउने बताइरहेका छन् ।
विमानस्थल सञ्चालन भएको छोटो समयमै वायु सेवा कम्पनीले सेवा विस्तारका लागि चासो दिनुलाई राम्रो प्रतिफल मान्नुपर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि पूर्वका जनकपुर, सिरहादेखि पश्चिमका सुर्खेत, धनगढीसम्मबाट यात्रुहरू यहाँ आउने गरेका छन्, उनले भने, यसले हामी कर्मचारी, यहाँका व्यापारिक प्रतिष्ठानलाई समेत खुसी दिलाएको छ ।
श्रम स्वीकृत कार्यालय, म्यानपावर तथा ठूला ट्राभल एजेन्सीका शाखा खुल्दै जाँदा चहलपहल थप बढ्ने निश्चित छ ।
०७१ माघ १ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेका थिए ।
३ वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भए पनि आयोजनाको मुख्य ठेकेदार र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतीय नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोरोना महामारीका कारण
काममा विलम्ब भएको थियो । कार्गो भवन निर्माणसहित आयोजना सम्पन्न गर्न १० अर्ब र जग्गा अधिग्रहण (मुआब्जा) का लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर विमानस्थल सञ्चालनमा आएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।