२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा एक वर्षसम्म सबै शुल्कमा छुट, कुन कुन कम्पनीले उडान गर्दैछन् ?

जेठ १५, काठमाडौं : सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो ।

यस्तो छुट १४ जेठ (२८ मे २०२२)बाट लागू हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार यस्तो छुट एक वर्षसम्म लागू हुनेछ । एक वर्षसम्म हामी शतप्रतिशत छुट दिन्छौं, उनले भने, त्यसपछि परिस्थिति हेरेर नयाँ निर्णय हुन्छ ।

यसले नयाँ गन्तब्यमा उडान गर्न इच्छुक वायुसेवा कम्पनी आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ छ । धेरै भन्दा धेरै कम्पनीहरु यो विमानस्थलमा आकर्षित हुन सकुन भन्ने हाम्रो आषय हो, उनले भने ।

कति सम्म हुन्छ छुट ?

विमानस्थल प्रमुख दाहालका अनुसार विमानस्थलहरुमा जहाजको तौलका आधारमा शुल्क लिने गरिन्छ । अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरवेजको जहाजको तौल ७६ हजार किलो हो । यो जहाजले प्रतिउडान विभिन्न शुल्क गरी विमानस्थललाई १ लाख रुपैयाँसम्म छुट पाउँछ ।

सातामा तीन उडान गर्दा सो कम्पनीको छुट ३ लाख हुन आउँछ । यसले कम्पनीहरुलाई नयाँ विमानस्थलमा कम यात्रु भए पनि उडान नियमित गरिराख्न प्रेरित गर्ने प्राधिकरणको विश्वास छ ।

अरु कम्पनीले कहिले गर्लान उडान ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिराले मात्र साताको तीन उडान गर्ने गरी अनुमति लिएको हो । यसबाहेक फ्लाइ दुबई र एअर अरेबियाले निकट भविष्यमा उडान गर्न सक्ने देखिएको विमानस्थल प्रमुख दाहालले बताए । यसबाहेक बंगलादेश, भियतनाम, कम्बोडियासहितका मुलुकका वायुसेवा कम्पनी भैरहवा आउन सक्ने सम्भावना देखिएको उनले बताए ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 0 Minutes 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।