२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

बालेन साह भन्छन् – मलाई काम गर्न नदिने भन्ने प्रश्नै आउँदैन, जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र ?

जेठ १४, काठमाण्डाै : देशकाे राजधानीसमेत रहेको काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार सात सय ६७ मतसहित मेयरमा निर्वाचित हुनुभएको छ ।

उहाँले सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘र्‍यापर’ को पहिचान बनाउनुभएका नवनिर्वाचित मेयर साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ

टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । संविधानले पालिका तहलाई सरकारका रूपमा परिभाषित गरेको छ ।

माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार पालिकाका क्षेत्राधिकारभित्र पर्दछन् । जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै पालिकाले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन् ।

मेयरमा निर्वाचित ३२ वर्षीय साहसँग काठमाण्डाै महानगरको समग्र विकासका बारेमा राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता अशोक घिमिरे र शर्मिला पाठकले गर्नुभएको कुराकानीको सम्पादित अंशः

काठमाण्डाैकाे मेयरका रूपमा निर्वाचित हुनुभयो, तपाईँका योजना र प्राथमिकता के–के हुन् ?

शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नुअघि नै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ ।

पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ । प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ ।

यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं । काठमाण्डाै उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ ।

यसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् । उदाहरणका रूपमा भक्तपुरलाई लिन सकिन्छ । भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहाँको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ । प्रत्येक व्यक्ति यहाँको कला, संस्कृति र इतिहासका बारेमा जानकार हुनुपर्छ ।

महानगरले यसअघि बनाएको पाठ्यक्रमले यी विषय समेट्न सकेनन् भन्ने हो ?

यसअघिका पाठ्यक्रमले धेरै कुरा समेट्न सकेको छैन । लिखितरूपमा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । यहाँको कला संस्कृति, सांस्कृतिक वैभवका बारेमा बुझ्न धेरै पुस्तक छन् । तर त्यो विषयलाई व्याख्या गर्नसक्ने जनशक्ति छैनन् ।

प्राविधिकरूपमा पनि शिक्षाको गुणस्तर बढाउने योजना अगाडि सारेका छौँ । मोबाइलमा ‘भिडियो च्याट’ गरेर मात्र अनलाइन कक्षा हुँदैन, यसले शैक्षिक स्तर बढाउँदैन । प्रविधि तीव्ररूपमा परिवर्तन भइरहेको छ । ‘थ्रिडी भिजुअलाइज’ मार्फत उदाहरण देखाउँदै पढाउन थालियो भने विद्यार्थीले सजिलै बुझ्न सक्छन् ।

अहिले शिक्षा भार जस्तो भएको छ । विद्यालय जान गाह्राे मान्ने अवस्थाको अन्त्य गरी रमाइलो तरिकाले हाँस्दै खेल्दै सिक्ने वातावरण बनाउने हो । हप्ताकाे एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रूचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ ।

कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । हप्ताकाे एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।

पूर्वाधार र विद्यार्थी नभएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?

पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । त्यसलाई मर्ज गराएर त्यहाँका विद्यार्थी र शिक्षकलाई व्यवस्थापन गर्न सक्छौँ ।

सामुदायिक विद्यालयको जथाभाबी ‘मर्ज’ गर्‍याैँ भने निजी विद्यालयलाई प्रश्रय दिएको जस्तो हुन्छ तर आवश्यकताका आधारमा मात्रै ‘मर्ज’ गर्छौं । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो । उज्यालो अन्लाईन

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।