२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

काठमाडौंको वटा वडामा बालेन शाहप्रति ठूलो आकर्षण

बैशाख २८, काठमाडौ : स्थानीय चुनाव हुन तीन दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंको मेयरमा जनताले कसलाई छान्छन् भन्ने चासो उत्कर्षमा पुग्न लागेको छ।

सेतोपाटीले पछिल्ला केही दिनदेखि काठमाडौं महानगरका मतदातासँग भेटेर उनीहरूका चासो र उनीहरूले चुन्न चाहेको मेयरबारे कुरा गरिरहेको छ। पहिलो चरणमा हामीले टेकुदेखि ठमेलसम्मका १२ वटा वडामा फैलिएको मुख्य नेवार बस्तीका

२०० मतदातासँग कुरा गरेर स्टोरी प्रकाशित गरिसकेका छौं।दोस्रो चरणमा हामीले भित्री नेवार बस्ती बाहेकका २० वटा वडाका मतदातासँग कुरा गरेका छौं। हामीले पछिल्ला केही दिनमा नक्साल, हाँडिगाउँ, बालुवाटार, महाराजगन्ज, लाजिम्पाट, सामाखुसी, बालाजु, नयाँबजार, सोह्रखुट्टे,

स्वयम्भू, कालिमाटी, बाफल, रविभवन, कलंकी, कुलेश्वर, बानेश्वर, शान्तिनगर, कोटेश्वर, नरेफाँट, बौद्ध, महांकाल, कुमारीगाल, गौरीघाट, चाबहिल, पशुपति लगायत ठाउँका ३३० मतदातासँग उनीहरूकै टोल, गल्ली र चोकमा भेटेर कुराकानी गरेका हौं।

भित्री नेवार बस्तीमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहबीच मुख्य प्रतिस्पर्धा देखिन्थ्यो भने स्वतन्त्र उम्मेदवार बालेन शाह तेस्रो स्थानमा थिए। भित्री बस्ती बाहेकका २० वडामा भने सबभन्दा धेरै मतदाताले शाहलाई मत दिने बताएका छन्।

हामीले कुरा गरेका ३३० मतदातामध्ये १०३ जना अर्थात ३१ प्रतिशतले बालेन शाहलाई भोट दिने बताए। त्यस्तै, ६५ जना अर्थात झन्डै २० प्रतिशतले एमालेका केशव स्थापितलाई र ५१ जना अर्थात १५ प्रतिशतले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई भोट दिने बताए।

यी तीन जना उम्मेदवारबाहेक राप्रपाका मदनदास श्रेष्ठलाई २४ जनाले र स्वतन्त्र उम्मेदवार सुमन सायमिलाई १६ जनाले भोट दिन्छु भने। यसबाहेक अन्य उम्मेदवारलाई मतदाताहरूले लगभग सम्झिएनन्। ५३ जना मतदाताले भने अझै निर्णय गरिनसकेको बताए।

वैशाख ३० गते भोट हाल्ने दिन मतदाताले यीमध्ये कसलाई रोज्छन्, त्यो त अन्तिम मतपरिणामले नै बताउनेछ। कतिपय मतदताले भोट हाल्ने दिन मात्रै अन्तिम निर्णय गर्ने बताएका छन्। तर अहिलेसम्म मतदाताको कुरा सुन्ने हो भने यसपालिको चुनावमा नयाँ र स्वतन्त्र उम्मेदवार शाहप्रति काठमाडौंका यी २० वडामा ठूलो आकर्षण देखिएको छ।

हामीले पछिल्लोपटक नेवार बस्ती भएको ‘कोर-सिटी’ मा स्टोरी गर्दा पनि उनी मतदाताको तेस्रो छनौटमा थिए। त्यहाँ सबभन्दा धेरैले स्थापित, दोस्रोमा सिंह र तेस्रोमा शाहलाई मत दिन्छु भनेका थिए।

२०७४ सालको स्थानीय चुनावमा पनि साझाका किशोर थापा र विवेकशील पार्टीका रञ्जु दर्शनाले कोर-सिटीबाट ५-७ हजार मत मात्र ल्याएका थिए। यसपालि यो मुख्य नेवार बस्तीमै शाहलाई भोट दिन्छु भन्ने मतदाता बढेका छन्। शाह आफैं पनि नरदेवीका बासिन्दा हुन्।

कोर-सिटीमा स्थापितलाई भोट दिन्छु भन्ने ३१ प्रतिशत र सिंहलाई दिन्छु भन्ने २५.५ प्रतिशत मतदाता भेटिँदा बालेनलाई दिन्छु भन्ने १८ प्रतिशत थिए। मतदाताको ठूलै संख्याले कसलाई भोट दिने अझै निर्णय गरिनसकेको बताएका थिए।

दोस्रो चरणमा मुख्य नेवार बस्तीभन्दा बाहिरका २० वटा वडामा पुगेर कुरा गर्दा बालेन शाहलाई मत दिन्छु भन्नेको संख्या ह्वात्तै बढेर उनी मतदाताको पहिलो रोजाइमा पुगेको देखिएको छ।

यसरी बालेनलाई भोट दिन्छु भन्ने मतदाता बढ्नुका पछाडि स्थापित पार्टीहरूप्रतिको विकर्षण मुख्य कारण देखिन्छ। उनलाई यसपालि एमाले र कांग्रेसका परम्परागत मतदाताले पनि ठूलो संख्यामा भोट दिन्छु भनेका छन्।

२०७९ बैशाख २८, बुधबार प्रकाशित 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।