
काठमाडौ : बैशाख २६, काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ ।
चुनावी घरदैलोका क्रममा उहाँहरूबीच आज आइतवार बिहान जम्काभेट भएको हो । भेटमा दुवै जनाले हासिमजाक गरेका छन् भने फोटो पनि खिचाएका छन् ।
भेटमा बालेनले आफूलाई आशीर्वाद दिन भन्दै स्थापितको हात हाफ्नो टाउकोमा राख्नुभयो । आशीर्वाद दिँदै स्थापितले भन्नुभयो, ‘सफल इन्जिनियर भवः’ । जम्काभेटमा दुवै पक्षका समर्थकले आ–आफ्नो पक्षमा चर्को नाराबाजी गरेका थिए ।
थप समाचार, जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना
प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि
निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रहसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना विपरीतका कार्य तोकिएको समयमा गरे गराइएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने बताएको छ ।