
काठमाडौं : वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ र वैधानिकीकरणको प्रक्रिया मार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयंले अनलाइन मार्फत आवेदन गर्न आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै कार्यालयले विदेशस्थित नेपाली दूतावासबाट प्रमाणित भएर आएका मागपत्र सम्बन्धि कागजात वैदेशिक रोजगारीमा जाने सम्बन्धित व्यक्तिले प्रिन्ट गरी विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस) मा
अपलोड गर्नुपर्ने बताएको छ । यसअघि कतार, कुवेत, युएई, रोमानिया, अल्वानिया, पोल्याण्ड, माल्दोभा, क्रोसिया, हंगेरी, बेलारूस र स्लोभाकिया मुलुकबाट व्यक्तिगत नयाँ श्रम स्वीकृति वा वैधानिकीकरण गर्दा सम्बन्धित देशको नेपाली दूतावास र
कम्पनीबाट वैदेशिक रोजगार कार्यालय ताहाचलको ईमेलमा पठाई ती कागजातमा उक्त कार्यालयले प्रिन्टगरी छाप लगाई सम्बन्धित व्यक्तिले अनलाइनमा अफलोड गरेपछि श्रम स्वीकृति दिने गरिएको थियो ।
अब विभागको प्रणालीमा आवेदन गर्दा विदेशबाट आएका मागपत्रमा कार्यालयको छाप लगाउनुपर्ने छैन भने सम्बन्धित कामदारले आफ्नो पायक पर्ने स्थानबाट आवेदन गर्न सक्नेछन् ।
ताहाचलले वैशाख २२ गते बिहीबारदेखि नै नयाँ व्यवस्था लागू गरिने जनाएको छ । ताहाचलले अबदेखि सम्बन्धित नेपाली राजदूतावास वा कम्पनीले कामदारको ईमेलमा प्रमाणित कागजात पठाएपछि आफ्नो कार्यालयमा त्यसको प्रतिलिपी
हुबहु पठाउनुपर्ने जनाएको छ । ताहाचलले यसअघि गत माघदेखि पुनःश्रम स्वीकृति र यहि वैशाख २ गतेदेखि संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत हुने श्रम स्वीकृति अनलाइन प्रणालीबाट प्रदान गरिरहेको छ ।