
काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान शुक्रबारदेखि सुरु गरेको छ । नेपाली श्रमिकहरुको महत्त्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा
निगमले हाललाई हप्तामा २ वटा उडान सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादको लागि निगमको पहिलो उडान बेलुका १९ः१५ बजे प्रस्थान गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि फागुन २२ गते उडान अनुमति प्राप्त भएको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र
जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियादसहित अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्ने भएको छ । उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक २ वटा
उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्ताहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्पुर र बैंककमा ३–३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको खड्काले बताइन् । उल्लिखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरूमा हाल निगमको सिट अकुपेन्सी ८० भन्दा बढी रहेको जनाइएको छ ।