२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

आजदेखि व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले अनिवार्य स्वघोषणा गर्नुपर्ने !

बैशाख १, काठमाडौं : व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैशाख १ गते (आज)देखि अनिवार्य स्वघोषणापत्र भर्नुपर्ने भएको छ ।

भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरिएको हो ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिनेजस्ता प्रवृत्ति देखिएपछि स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणापत्र भर्नुपर्ने छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९’ अनुसार सो व्यवस्था आजदेखि लागू गरेको हो ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ ।

विभागले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट प्रदान गर्दै आएको छ । श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड घटेको बताइएको छ ।

२०७९ बैशाख १, बिहीबार प्रकाशित 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।