२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

प्रशिक्षक देशाई भन्छन् – नेपाली खेलाडीको क्षमता अद्भुत छ ।

चैत ३, काठमाण्डाै : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद नतिजा निकाल्न सफल भएको बताएका छन् ।

लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध डीएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले सुरुवात खराब भए पनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताएका हुन् ।

सुरुवात नराम्रो भए पनि यस अघिका खेलबाट बटुलेको अनुभवको आधारमा अगाडि खेल्दै जाँदा सुखद नतिजा निस्किने विश्वासका साथ खेलेको उनले बताए। यो बीचमा आरिफ र गुल्सनको साझेदारी नै महत्त्वपूर्ण रहेको उनकाे भनाइ छ ।

राम्रो रनको लक्ष्य भए पनि दोस्रो इनिङमा विकेट राम्रो भएको भन्दै पछ्याउन सक्ने विश्वास साथ खेल्न टिम रणनीति बनेको कप्तान रोहितले बताए ।

यस्तै प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए। यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए ।

खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईले बताए । नेपालले प्राप्त गरेको सफलता पछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए ।

उनले यस क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए ।

लिग–२ को अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्व कप छनोटमा स्थानमा बनाउन सफल भयो । नेपाल यूएईलाई हराएपछि शीर्ष तीनमा अटाउँदै विश्व कप छनोट खेल्न योग्य भएको हो ।

विश्व कप छनोट आउँदाे जुन र जुलाईमा जिम्बाब्वेमा हुनेछ । जिम्बाब्वेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् ।

विश्व कप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।