२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेका गोकर्ण भन्छन् – सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ ।

असोज २२, गुल्मी : पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी देशमा जाने युवायुवतीको लर्को लागिरहेको छ ।

नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहनुभएको छ ।

उहाँको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गर्नुभएका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउनुहुन्छ । उहाँले खाडी देशमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउनुहुन्छ ।

उहाँले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढी पुर्‍याउनुभएको छ । उहाँले गएको जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गर्नुभएको हो ।

उहाँसँग गुल्मीका पालिकासँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्युठान र बाग्लुङका किसानले बिरुवाहरू खरिद गर्नुभयो । उहाँसँग अहिले ३१ लाख रुपैयाँ बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँस छन् । उहाँले एक सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ ।

त्यो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नैको हो भने बाँकी ४० रोपनी लिजमा लिनुभएको छ । बिहानदेखि बेलुकीसम्मको समय खेतबारीमा बिताउने गोकर्णले घाँस खेतीसँगै बाख्रापालनसमेत गर्नुभएको छ । उहाँले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउनुभयो ।

नेपालीले आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राख्नुभएको छ । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै ६ लाख रुपैयाँ लगानी गर्नुभएका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउनुहुन्छ ।

रोजगारी सिर्जना

गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफूसँगै दिनभर अर्का एक र मौसमीरूपमा १०÷१२ गरी औसतमा दैनिक आठ जनाले फर्ममा रोजगारी पाएका छन् ।

यीबाहेक आमा विष्णु, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्नुहुन्छ । कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ, गोकर्ण भन्नुहुन्छ । उहाँले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाहट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उहाँले झेलिरहनुभएको छ ।

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उहाँले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देख्नुभयो । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उहाँको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उहाँले बताउनुभयो ।

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरु गरेमा पनि निकै फाइदा पुग्ने उहाँको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउनुहुन्छ । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनुभएका गोकर्ण पेसाप्रति विचलित नभइ अडिग रहनुभयो । उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउनुहुन्छ ।

मोटरसाइकल बेचेर लगानी

गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्नुहुन्थ्यो । केही गर्ने हुटहुटीले उहाँले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गर्नुभयो । उहाँले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बिउ तथा बिरुवा ल्याएर रोप्नुभयो । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल हुनुभयो । उहाँले यसलाई सफलताको रूपमा लिनुभएको छ ।

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउनुभयो । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो ।

मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छु, गोकर्णले भन्नुभयो । घाँस खेती गरेर अन्य पालिकामा निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिले हौसला दिएमात्र पनि पुग्ने उहाँको भनाइ छ । उज्यालो अन्लाईन

२०७९ आश्विन २२, शनिबार प्रकाशित 0 Minutes 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।