
साउन ८, काठमाडौँ : भैरहवा–लुम्बिनी क्षेत्रमा विद्युत् अभावको समस्या समाधान गर्न सात वर्षअघि थालिएको बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सञ्चालनमा आएको छ ।
बुटवलको योगीकुटीस्थित राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएपछि सञ्चालनमा आएको हो । त्यहाँबाट २ सय मेगावाट क्षमताको विद्युत् मैनहिया सबस्टेसनमा जोडिएको छ । यसअघि योगीकुटीबाट ल्याइएको विद्युत् लाइन ८० मेगावाट क्षमताको थियो ।
आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहियामा सबस्टेसन बनाइएको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण बढ्दो विद्युत्को मागलाई विद्युत् प्राधिकरणले थेग्न सकेको थिएन । आवश्यकताअनुरूपको विद्युत् योगीकुटीको राष्ट्रिय प्रसारण लाइनबाट ल्याउने बाटो (संरचना) नै थिएन ।
८० मेगावाट मात्र विद्युत् ल्याउन सकिने क्षमताको तारबाट १ सय मेगावाट विद्युत् ल्याएर बाँड्दा भैरहवा, लुम्बिनी क्षेत्रमा ओभरलोडका कारण बारम्बार विद्युत् आपूर्तिमा अवरोध हुने गर्थ्यो ।
आयोजनाअन्तर्गत निर्मित मैनहिया सबस्टेसनबाट ४० मेगावाट उपलब्ध गराइएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । आयोजना पूर्ण सञ्चालनमा आउन भने साउनसम्म पर्खिनुपर्नेछ, उनले भने, मैनहिया सबस्टेसनमा रहनुपर्ने ४५ एमभीए क्षमताका दुई ट्रान्सफर्मरमध्ये एउटा मात्र सञ्चालनमा आएको छ ।
दुईवटै ट्रान्सफर्मर एकैपटक जडान गरेर आयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि अर्को ट्रान्सफर्मर आयोजनासम्म ल्याउने क्रममा लोड गरेर ल्याएको गाडी भारतमा पल्टिएकाले जडान हुन नसकेको उनको भनाइ छ ।
सप्लायर्स कम्पनीले अर्को नयाँ ट्रान्सफर्मर केही दिनमा उपलब्ध गराउने भएकाले साउनसम्ममा जडान गरी पूर्ण क्षमतामा आयोजना सञ्चालनमा आउने पाण्डेले जनाए ।
भैरहवा/लुम्बिनी क्षेत्रमा ४० मेगावाट विद्युत् थप उपलब्ध भएपछि र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका उद्योगहरूको विद्युत् समस्या समाधान भएको छ । लुम्बिनी र अमुवा क्षेत्रमा विद्यमान विद्युत् समस्या पनि समाधान भएको छ ।
आयोजना सञ्चालनमा आएपछि अब भैरहवा/लुम्बिनी क्षेत्रमा विद्युत् अभावको कुनै समस्या हुनेछैन, नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले भने, यस क्षेत्रमा अब मागअनुरूपको विद्युत् उपलब्ध गराउन सकिनेछ । भैरहवामा पनि विद्युत् प्रसारणमा धेरै सहजता भएको उनले बताए ।
एयरपोर्ट, लुम्बिनी र अमुवा क्षेत्रलाई थप विद्युत् दिइएपछि भैरहवामा विद्युत् व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ । अर्को ट्रान्सफर्मर पनि जडान भएर सञ्चालनमा आएपछि विद्युत् आपूर्तिमा कुनै समस्या रहनेछैन । यसअघि ओभरलोडका कारण तार छिन्ने, ट्रान्सफर्मर पड्किने, बारम्बार ट्रिपिङ हुने, हाइभोल्टेज र कम भोल्टेज हुनेलगायत समस्या थिए ।
विद्युत् अभाव र गुणस्तरहीन विद्युत्का कारण तीव्र गतिमा अघि बढेको भैरहवा क्षेत्रको औद्योगिकीकरणको गति अवरुद्ध बनेको थियो । भैरहवा–लुम्बिनी क्षेत्रमा अघोषित लोडसेडिङ थियो । सञ्चालित उद्योगले आधा समय मात्रै विद्युत्को प्रयोग गर्न पाउँथे ।
सबै उद्योगले उत्पादन कटौती गरी आधा मात्र उत्पादन गरिरहेका थिए । १ अर्ब १९ करोड रुपैयाँ लागतमा ०७२ सालदेखि आयोजना सुरु भएको हो । मैनहिया सब स्टेसनमा जोड्ने प्रसारण लाइनको रुट परिवर्तन, निर्माणका
क्रममा उत्पन्न विवाद, कोरोना महामारीलगायत कारणले आयोजना निर्माणमा ढिला भए पनि १ अर्ब १९ करोड रुपैयाँभन्दा कम लागतमै आयोजना सम्पन्न हुने आयोजना प्रमुख पाण्डेले बताए । अब एउटा ट्रान्सफर्मर जडानको काम मात्रै बाँकी छ, उनले भने, त्यो साउनसम्ममा सकिन्छ । कान्तिपुर